गोरखाको सामागाउँ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात

गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँलगायतका क्षेत्रमा हिमपात परेको उनले बताए । ‘हिजोदेखि ल्हो भन्दामाथि हिउँ परिरहेको छ’, उनले भने, ‘ल्हो, प्रोक र सामागाउँ तथा साम्दोमा पनि हिउँ परिरहेकाले चिसो अत्यधिक बढेको छ ।’

हिमपात सुरु भएसँगै दैनिक जनजीवन प्रभावित हुन थालेको साम्दोका होटल व्यवसायी निमादोर्जे लामाले बताए। हिमपातका कारण गाईवस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाइ हुन थालेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण अहिले खानेपानीका मुहानमा पानी जम्न थालेपछि पानीको समस्या हुन थालेको छ ।

चिसोले वृद्धवृद्धा र बालबच्चालाई बढी समस्या भएको उनले बताए । साम्दो गाउँ समुद्री सतहबाट तीन हजार पाँच सय ५० मिटर उचाइमा पर्दछ । उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ अन्य क्षेत्रमा भन्दा बढी हिमपात हुने गर्दछ । त्यस्तैगरी चुम भ्यालीतर्फको अन्तिम गाउँ निलेमा पनि हिमपात भइरहेको स्थानीयवासी छाङदोर्जे लामाले जानकारी दिए ।

हिमपातका कारण घरपालुवा पशुवस्तुलाई चरन क्षेत्रमा लैजान समस्या भएको लामाको भनाइ छ । निलेगाउँ समुद्री सहतबाट तीन हजार तीन सय मिटर उचाइमा पर्दछ । हिमपात पर्न सुरु भएसँगै मनास्लु पदमार्गमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत समस्या भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->