काठमाडौं । ललितपुर महानगरपालिकाका फुटपाथ व्यवसायीलाई व्यापार गर्ने अवसर दिनुपर्ने माग राखेर ललितपुर महानगरपालिका कार्यालय बाहिर उभिएका अभियन्ता ई: लाई स्थानीय वासिन्दाले अवरोध गरेका छन् ।
ई: ले ललितपुरको लगनखेलदेखि मंगलबजारसम्मको सडकमा फुटपाथ व्यापार गर्न नदिएपछि त्यहाँ व्यापार गरेर जीविका चलाएका साना व्यवसायीको रोजीरोटीमै समस्या परेको भन्दै मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
मंगलबार अपरान्ह ई: महानगरपालिकाबाहिर उभिन जाँदा पाटनका स्थानीय बासिन्दाले अवरोध गरेका हुन् । ‘हामी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै उभिन थालेका थियौं तर उभिन सुरु भएको पाँच मिनेटमै स्थानीयले आएर हामीसँग झगडा गरे ।
उनका अनुसार स्थानीयले ‘सम्पदा मास्न पाइँदैन, फुटपाथमा व्यापार चाहिँदैन’ भन्दै नाराबाजी गरेर ईःले राखेको आन्दोलनको ब्यानर पनि च्यातिदिएका थिए ।
