काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लालपूर्जा वितरणको अभियान छिट्टै सुरु हुने बताएका छन् ।
नेकपा माओवादी केन्द्रले काठमाडौंको बुढानीलकण्ठमा आयोजना गरेको कार्यक्रममा उनले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासीको समस्या हल गर्न सरकारले नयाँ कानुन ल्याउन लागेको र त्यसले लालपूर्जा वितरणलाई सहज बनाउने बताएका हुन् ।
‘लालपूर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुँदैछ । म तपाईंहरुलाई यो विश्वास दिलाउन चाहन्छु । यो समस्याको समाधान गर्न एक वर्षदेखि पहल गर्दा ऐनमा भएका केही त्रुटिका कारणले रोकिएको थियो’, उनले भने, ‘उपत्यका बाहेकका बाँकी जिल्लामा वन र भूमि ऐन आपसमा बाझिँदा यो समस्या थियो । त्यो गाँठो यस पटक मैले फुकाउँदैछु ।’
देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमान्दारितापूर्वक लड्ने पार्टी माओवादी नै भएको भन्दै प्रचण्डले सबैको साथ भए अर्को चुनावमा ठूलो पार्टी बन्ने बताए ।
‘माओवादीलाई दरोसँग सहयोग गर्नुपर्छ भन्ने एउटा नयाँ संस्कृति, नयाँ प्रवृत्ति, नयाँ जागरण जनतामा आउँदै गरेको मैले देखेको छु । सबैको साथ रह्यो भने अर्को पटकको चुनाव माओवादीले जित्छ’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले डेढ वर्षभित्र देशका सबै घरमा बिजुली पुर्याउने दाबीसमेत गरे । आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको दाबी गर्दै उनले भने, ‘‘अहिले तेस्रो पटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत नपुगेको रहनेछैन । डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ ।’
