रामबहादुर बम्जन काठमाडौँको बुढानीलकण्ठ हात्तिगौंडाबाट पक्राउ

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काठमाडौँको बुढानीलकण्ठ हात्तिगौंडाबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले पुष्टि गरे ।

उनले भने “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।”

बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो । बम्जनमाथि अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ ।

प्रहरी टोली पटकपटक उनको आश्रममा पुग्ने गरे पनि पक्राउ गर्न सकेको थिएन् । यसअघि प्रहरीले पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती तथा असार २०७७ मा कमलामाई नगरपालिका रहेको बम्जनको आश्रममा छापा समेत मारेको थियो ।

आफूलाई ‘बोधीमार्ग दर्शनमैत्री धर्म’ का प्रवर्तक भन्ने बम्जनविरुद्ध उनकै आश्रममा रहेकी १८ वर्षीया एक किशोरीले बलात्कारको जाहेरी दिएकी थिइन्। जिल्ला अदालत सर्लाहीमा उक्त मुद्धा विचाराधीन छ । अदालतले हाजिर हुन पटक पटक निर्देशन दिए पनि उनी भाग्दै आएका थिए ।

यस्तै उनीविरुद्ध तीन युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी समेत परेको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->