नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले बुधबार तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गर्यो ।
बाल यौन दुरुपयोग, व्यक्ति बेपत्तालगायत उजुरी र मुद्दापछि सीआईबीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।
बम्जनलाई पक्राउ गर्न पछिल्लोपटक चलाएको अप्रेसनलाई सीआईबीले ‘अप्रेसन ब्लु’ नाम दिएको हो । सीआईबी स्रोतका अनुसार बम्जनको अघिल्लो अंग्रेजी अक्षर ‘बी’ बाट ब्लु नाम दिइएको हो ।
यसअघि २०७८ सालमा सीआईबीले अप्रेसन ‘डेडलक’ नाम दिएर बमजनको खोजी गरेको थियो । उनी फरार हुनुअघि बम्जनको लामो कपाल भएकाले त्यसलाई बुझाउन अप्रेसनको नाम डेडलक दिइएको जानकारीमा आएको छ ।
सीआईबीले यो मात्र होईन अन्य ठूला अनुसन्धानमा अप्रेसनलाई नाम दिने गरेको छ । यो संगै केही समयअघि नक्कली डक्टर प्रकरणमा पनि अप्रेसन ‘फक्सट्रट चार्ली’ चलाइएको थियो ।
नक्कली प्रमाणपत्रको अंग्रेजी रुपान्तर फेक सर्टिफिकेट हुन्छ । फेकको अघिल्लो अक्षर एफबाट फक्सट्रट र सर्टिफिकेटको अघिल्लो अक्षर सीबाट चार्ली राखेर अप्रेसन फक्सट्रट चार्ली भनिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नेपाली नागरिकता प्रकरणको नाम पनि ‘फक्सट्रट चार्ली’ नै दिएको थियो । फेक सिटिजनसिपबाट उक्त नाम राखिएको त्यतिबेला अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।
त्यस्तै नक्कली रक्सीको फ्याक्ट्रीसम्बन्धी अनुसन्धानमा ‘फक्सट्रट लिमा’, बंगलादेशी नागरिकको अपहरणसम्बन्धी अनुसन्धानमा ‘किलो ब्राभो’ र नक्कली बीमासम्बन्धी अनुसन्धानमा ‘फक्सट्रट इन्डिया’ अप्रेसन चलाएको थियो ।
