काठमाडौं । जबरजस्ती करणीको आरोपमा काठमाडौं जिल्ला अदालतबाट दोषि ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई राष्ट्रिय क्रिकेट संघ (क्यान) बाट अलग बनाएका छन् ।
अदालतबाट दोषी ठहर भएसँगै क्यानलाई पत्र लेख्दै उनले अलग भएको स्वघोषणा गरेका हुन् ।
काठमाडौं जिल्ला अदालतबाट फैसला भएसँगै लामिछानेले गत पुस २५ मा क्यानलाई पत्र पठाएका थिए ।
लामिछानले अदालतले गरेको फैसला वास्तविकताभन्दा निकै टाढा भएको बताएका छन् । उनले आफूविरुद्ध योजनाबद्धरुपमा फैसला गरिएको पनि तर्क गरेका छन् ।
तथापि, फैसलालाई स्वीकार्नुको विकल्प नभएको उनले बताएका छन् । सँगै आफू न्यायको आशमा रहेको उनले बताएका छन् ।
“अदालतले मलाई सुनाएको फैसला वास्तविकताभन्दा टाढा भए तापनि अदालतप्रतिको मेरो विश्वास भने अपरिवर्तित र झनै बलियो रहनेछ”, क्यानलाई लेखेको पत्रमा उनले भनेका छन्, “ममाथि गरिएको फैसला षड्यन्त्र, क्रोध, डिजाइन र एकमात्र बयानमा आधारित छ जस्तो लाग्छ ।”
सन्दिपले आफू डिप्रेसनबाट गुज्रिरहेको बताएका छन् । तथापि, कुनै दिन आफूले जित्ने आशा पनि राखेको कुरा उनले पत्रमा लेखेका छन् । अन्तिम सास रहेसम्म आफू न्यायको पर्खाइमा रहने उनले बताएका छन् ।
“अहिले मेरो जीवन, करियर र सम्बन्धहरूमा अन्धकार छाएको अवस्था छ ।
तर, मेरो उज्यालो दिन आउनेछ भन्नेमा म पक्का छु । एकदिन सबै भित्री वास्तविकता र षड्यन्त्र बाहिरिनेछ भन्नेमा पनि म ढुक्क छु ।”, उनले पत्रमा लेखेका छन्, “म समाप्त भएको, हराएको र त्यागिएको छैन ।
म सबै प्रकारका निराशा, चिन्ता र डिप्रेसनबाट बाहिरिने प्रयास गर्दैछु । सम्माननीय अदालतबाट छिट्टै न्यायको पर्खाइमा छु र मेरो अन्तिम साससम्म न्याय खोज्नेछु ।”
