काठमाडौं । ब्रान्डेड मदिराका नक्कली उत्पादन गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं उपत्यकाभित्र पछिल्ला २ वर्षमा तेस्रो पटक नक्कली मदिरा उत्पादकमाथि अप्रेसन गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवीका २८ वर्षीय मनोज खत्री, ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुलीको कमलामाईका २८ वर्षे गौरव तामाङ, सिन्धुपाल्चोकको चौताराका २७ वर्षे मोहन खड्का, काठमाडौंको कागेश्वरीका ३५ वर्षे सुमन नगरकोटी, सिन्धुलीको कमलामाईका ४० वर्षे लेखविक्रम थापा, रामेछापको मजुवाका २३ वर्षे महेश खत्री, रामेछापको खाँडादेवीका २० वर्षे मनिष खत्री र सिन्धुपाल्चोकको चौताराका २८ वर्षे रोशन कार्की रहेका छन् ।
यीमध्ये विनोद, मनोज र गौरव अघिल्ला दुई वटा घटनामा पनि संलग्न थिए । मनोज पहिलो पटक पक्राउ पर्दा ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए भने दोस्रो पटक पक्राउ पर्न सकेका थिएनन् । विनोद पहिलो पटक पक्राउ परेका हुन् । गौरव पनि फरार थिए । प्रहरीले विनोद मुख्य व्यक्ति भएको दाबी गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा( ५ थलीस्थित विनोद बस्ने गरेको कोठामा छापा मार्दै नक्कली मदिरा बरामद गरेको थियो । त्यहाँ गोल्डेन ओक, फाइटर, सिग्नेचर, खुकुरी रम, ३६५ ब्ल्याकलगायत मदिरा बरामद भएको थियो । प्रहरीले त्यहाँबाट मदिरा बनाउन प्रयोग गर्ने सामानहरु, सगुन ब्रान्डको मदिरा पदार्थ, चिनी(पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीको खाली बोतल, राजस्व अन्तःशुल्कको स्टिकर, लेवलिङ तथा प्याकेजिङ गर्न प्रयोग गरिने स्टिकरहरु पनि बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।
