काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले सार्वभौम समानता, आपसी सम्मान, पारस्पारिक लाभ र विवादको शान्तिपूर्ण समाधानमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको बताएका छन् ।
शुक्रबार ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले असम्लग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक भएको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले विश्वको ६० प्रतिशतभन्दा बढी संयुक्त राष्ट्रसङ्घका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसङ्घपछि सबैभन्दा बढी प्रतिनिधि रहेको संस्था नामले विश्व शान्ति र सुरक्षाका लागि उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने स्पष्ट पार्दै गाँजा र युक्रेनमा भइरहेको द्वन्द्वको समाधान संवाद र कूटनीतिक माध्यमबाट गर्नुपर्ने पनि बताए ।
