झापा ट्राफिक भवन हस्तान्तरण

संविधानसभा सदस्य रविन कोइरालाले ट्राफिक प्रहरी समयसापेक्ष आफू कसरी प्रविधिमैत्री बन्ने र हामीले कसरी प्रविधिमैत्री बनाउने भन्ने चुनौति रहेको बताएका छन् ।ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको नवनिर्मित भवन हस्तान्तरण तथा दाता सम्मान कार्यक्रममा बिहीबार उनले सो कुरा बताएका हुन् ।

“ट्राफिक व्यवस्थापनका थुप्रै व्यवधानहरु छन्” प्रमुख अतिथि कोइरालाले भने, “तिनलाई कानूनी दायरामा ल्याई समाधानका उपाय पहिल्याउन जरुरी छ ।”
त्यसक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी प्रदेश प्रमुख सरोज पौडेलले जनस्तरबाट प्रहरी भवन निर्माण हुँदा समुदाय–प्रहरी सम्बन्ध थप प्रगाढ भएको अनुभूति गरे ।“ट्राफिक प्रहरी सडकसँग जोडिएको संस्था हो” ट्राफिक प्रहरी उपरीक्षक पौडेलले भने, “आफैं सुरक्षित नभई अरुलाई सुरक्षा दिनुपर्ने परिस्थिति थियो, त्यो समस्या टर्यो ।”

आवश्यक जनशक्ति अभाव भइरहँदा थप गर्ने योजना रहे पनि दरबन्दी सृजना गर्ने र जनशक्ति थप्ने राज्यको नीति तत्काल नरहेको उनको भनाई थियो ।
त्यस्तै नेपाली कांग्रेसका कार्यवाहाक झापा जिल्ला सभापति केशवराज पाण्डेले अनुसन्धानमा विश्वमै अब्बल मानिएको नेपाल प्रहरी प्रविधिमैत्री बन्नसके शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, पार्किङलगायतका कामकार्वाही सहज, व्यवस्थित र प्रभावकारी बन्ने धारणा राखे ।२६ वर्षदेखि सडकपेटीमा अस्थायी रुपले सेवा प्रवाह गर्दै आएको ट्राफिक प्रहरीको सुविधासम्पन्न भवन निर्माण गर्न सामुदायिक सेवा केन्द्रको अग्रसरता प्रशंसनीय रहेको उनले बताए ।

यसैगरी मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले मेची सामुदायिक सेवा केन्द्रको सामाजिक गतिविधि पछिल्लोसमय गर्व गर्न लायकको बनेको उल्लेख गर्दै अन्य सीमा क्षेत्रका लागि समेत अनुशरणीय रहेको बताइन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका मेचीनगर इञ्चार्ज माधव अर्यालले ट्राफिक प्रहरी भवनको आवश्यकता महसुस गर्दै सामुदायिक सेवा केन्द्रको अगुवाईमा सर्वदलीय एवं सर्वपक्षीय छलफलपछि जग्गा खोजेर थालिएको भवन निर्माण प्रक्रियाले पूर्णता पाउनु सुखद पक्ष भएको बताए ।

समितिका अध्यक्ष मुक्ति पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ‘खोलो तर्यो, लौरो बिर्सियो’ भन्ने पुरानो उक्ति कहीं कतै बल्झिने गरेको स्मरण गर्दै भवनका लागि तन, मन, धन, वचन र कर्मले नगद तथा जिन्सी सहयोग गर्ने मनकारीलाई सम्मान गरिएको बताए ।

विभिन्न व्यक्ति तथा संघसंस्थाले आफूले आर्जेको रकमको केही हिस्सा खर्चेर सामाजिक दायित्व पूरा गर्न लागिपरेका दाताप्रति आभारसहित धन्यवाद व्यक्त गर्दै सर्वोपरि हितका अभियानमा सदैव हातेमालो गर्न आग्रह गरे ।कार्यक्रममा भवन निर्माण समितिका कोषाध्यक्ष तथा आर्थिक उपसमितिका संयोजक सुभाष गुरुङले आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

सो अवसरमा पूर्वसांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइराला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, काँकरभिट्टा खानेपानी संस्थाका उपाध्यक्ष गोविन्द गिरीको आतिथ्यता थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, प्रहरी नायव उपरीक्षक दिपक भारती, सशस्त्र प्रहरी नायव उपरीक्षक विकास खनाल, ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपाने, प्रहरी निरीक्षक यशोदा घले, ट्राफिक भवन निर्माण आर्थिक समितिका सदस्यहरु डिल्लीराम घिमिरे, सुरेन्द्र बुढाथोकी, हरिप्रसाद तिम्सिना, ओमप्रकाश खापुङ, विष्णुकुमार श्रेष्ठ, समाजसेवी पुष्पा गुरुङको आतिथ्यता थियो । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा भवन निर्माण समितिद्धारा आयोजित कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने एकसय बढी व्यक्ति एवं संघसंस्थालाई सम्मान गरिएको थियो ।समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खडानन्द भण्डारी र सञ्चालन समिति सल्लाहकार सदस्य सुभद्रा भट्टराई अर्यालले गरेकी थिइन् । मेचीनगर–६, पुरानो भन्सारमा भूईंबाट ९ फिट टाइपिङ कसेर तीन तला थप गर्न मिल्नेगरी बनाइएको २६ फुट चौडाई र ४६ फुट लम्बाईको भवन ४ महिने अवधिमा निर्माण भएको हो ।

नगद तथा जिन्सी गरी कूल २२ लाख रुपैयाँको लागतमा नवनिर्मित ४ कोठे भवनमा ब्यारेक, इञ्चार्ज कक्ष, कार्यालय, इञ्चार्ज निवास, सार्वजनिक शौचालयलगायत छन् । पोष्टका इञ्चार्ज एवं ट्राफिक प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठको कार्यकालमा निर्माण सम्पन्न भएको भवन पोष्टलाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->