ठेकेदार बिरुद्ध स्थानीय आन्दोलित,बाह्र वर्षमा पनि बनेन पुल

पाँचथर सामान्यतया एउटा पुल बन्न कति समय लाग्छ ? तीन वर्ष, ६ वर्ष, वा दश वर्ष । तर अनौठो त के छ भने १२ वर्षमा आधा पुल पनि बनेन भन्दा अचम्म लाग्न सक्छ । सुन्दा अचम्म लाग्ने पुल हो तमोरको लुवुघाटमा निर्माणधीन मोटरेवल पुल । पाँचथर र तेह्रथुम जिल्लालाई छोटो दुरीमा जोड्ने पुल ठेकेदारको बद्मासीको कारण बाह्र वर्षदेखि अलपत्र अवस्थामा छ ।

सडक डिविजन कार्यालय धनकुटाले २०६९ सालमा स्वच्छन्न निर्माण सेवा काठमाडौलाई १३ करोडको लागतमा पुल निर्माणको ठेक्का दियो । तीन वर्षमा पुरा गर्ने गरी ठेक्का हात पारेको ठेकेदार कम्पनीले चार पटक म्याद थप्दै बाह्र वर्ष वितायो । बाह्र वर्षमा पनि पुल नबनाएको भन्दै पाँचथर र तेह्रथुमबासी आन्दोलित बनेका छन । ठेकेदारको लापरवाहीले पुल अलपत्र परेपछि स्थानीयले सास्ती भोग्दै आएका छन ।

बाह्र वर्षसम्म पनि पुल निर्माण नगरेको भन्दै तेह्रथुमको म्याङलुङ नगरपालिका प्रमुख सञ्जय कुमार तुम्बाहाम्फे र पाँचथरको कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का नेतृत्वको टोलिले ठेकेदारलाई दबाव दिन संघर्ष गर्ने जनाएका छन ।

अलपत्र पुलको दुबै जिल्लाका जनप्रतिनधि र स्थानीयले अनुगमन र निरिक्षण गर्दै ठेकदारको रबैया बिरुद्ध एक भएर अघि बढ्ने बताएका छन । उनिहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत डेलिकेसन गर्ने र तोकिएको समयमा पुलको काम पुरा नगरे कानुनी कारवाहीको लागि नेपाल सरकारसंग माग गर्ने जनाएका छन ।

ठेकेदार कम्पनीले २०८१ असार भित्रै पुलको काम पुरा गर्नुपर्ने उल्लेख छ । पुलको १ सय ४९ मिटर लम्बाइ मध्ये ९२ मिटर ढलान गर्नुपर्ने छ भने बाँकी ५७ मिटर स्टिलको ट्रष्ट राख्नुपर्ने हुन्छ ।

बाह्र वर्षको अवधिमा ५० प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तिय प्रगति गरेको सडक डिविजन कार्यालयका प्रमुख राम कुमार देवले बताए । यता पुलको पिल्लर निर्माण गर्दा प्राविधिक समस्या देखा परेकाले काम गर्न समस्या भएको निर्माण कम्पनीका प्रमुख जयराम लामिछानेले दावी गरे ।

बिभिन्न बाहानाबाजी योजना लब्याएको ठेकेदारको कारण कृषिजन्य बस्तुको ओसार पसार र व्यपार व्यावसायमा ठुलो समस्या उत्पन्न भएको व्यवसायीले जनाएका छन ।बाह्र वर्षसम्म आधा मात्रै पुल बनाएको ठेकेदारलाई कारवाही गर्नुको साटो पटक पटक म्याद थप गरी सरकारले नै संरक्षण गरेको छ । समयमै पुल निर्माण नहुदा लागत खर्च बढ्न गई राज्यलाई समेत ब्यायभार थपिने गरेको छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->