झापा गोल्डकपको छैटौँ संस्करण फागुन १९ देखि २८ गतेसम्म हुने

झापा -मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणबारे जानकारी दिएको हो ।

बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको आयोजकले जनाएको छ । खेलाडीको उत्पादन र संरक्षणकालागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ ।

प्रत्येक बर्ष हुँदै आएको गोल्डकप केही बर्षदेखि नियमित हुन छाडेको थियो । गोल्डकपका अध्यक्ष बिनोद वस्नेतले कोरोना संक्रमण र त्यसपछि भएको आर्थिक मन्दीका कारण गोल्डकप नियमित हुन नसकेको जानकारी दिए । अघिल्ला संस्करणमा झै यसबर्ष पनि उद्योगी व्यवसायीको साथ लिएर गोल्डकप सम्पन्न गर्ने आयोजकले जनाएको छ । तर स्थानीय सरकारले खेलक्षेत्रलाई सहयोग नगरेको बस्नेतको गुनासो छ ।

बस्नेतले यस पटक १ करोड ४० लाख रुपैंयाँ खर्च हुने अनुमान गरेको बताए । प्रतियोगिताबाट रकम बचत गरी १ करोड बढीको अक्षयकोष निर्माण गर्ने लक्ष्य रहेको छ ।

यो वर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए ।त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने छ ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउन झापा गोल्डकप हुँदै आएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->