काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा गाडी पार्किङ गर्न नदिएपछि व्यवसायीहरू आन्दोलित भएका छन । काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २२ ,२३ र २४ न्यूरोड क्षेत्रका व्यवसायीहरूले हिजैदेखि शटर बन्द गरेर आन्दोलनमा उत्र्रेका हुन । कालोपत्र सडकमा पार्किङ गर्न निषेध गरेको विरोधमा मंगलबारदेखि नै व्यवसायी विरोधमा उत्र्रेका हुन ।
उनीहरुले आज शटर बन्द गरेर महानगरलाई चाबी बुझाउने तयारी गरेका छन् ।कोरोना महामारीलगायतका कारण व्यवसायबाट पलायन हुन थालेका व्यवसायीहरूलाई हतोत्साही बनाएर महानगरले न्युरोड क्षेत्रमा पार्किङ बन्द गर्ने निर्णय गरेको व्यवसायीको आरोप छ ।
महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको हो । न्युरोडको पार्किङको विकल्पमा काठमाण्डौ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको महानगरको दाबी छ । व्यवसायीहरूले भने यो पार्किङ क्षेत्र उपयुक्त नभएको बताएका छन ।
