संघीय संसदको राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचनमासत्ता गठबन्धनलाई सफलता मिलेको छ । आज भएको निर्वाचनमा रिक्त रहेको १९ सदस्यमध्ये १८ सदस्य सत्ता गठबन्धनबाट विजयी भएका छन् । कोशी प्रदेशबाट भने दुईमध्ये एक सदस्यमा एमालेकी उम्मेदवार निर्वाचित भएकी छन् । माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन् ।
उनले ५ हजार ८६ मतभार प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मतभार पाएकी छिन् । कोशी प्रदेशबाट अन्यतर्फ कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटौला निर्वाचित भएका छन् । उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन् । सिटौलाले कुल ५ हजार २ सय ९२ मतभार प्राप्त गर्दा पौडेलले ४ हजार ५ सय ६२ मतभार प्राप्त गरे । त्यसैगरी, मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपा नेपालकी पूजा चौधरी विजयी भएका छन् ।
यसैगरी बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेद्वार निर्वाचित भएका छन् । नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।
त्यस्तै, गण्डकी प्रदेशबाट माओवादी केन्द्रकी मनरुपा शर्मा, लुम्बिनी प्रद्येशबाट माओवादीका झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णु सापकोटा निर्वाचित भएका छन् ।लुम्बिनी प्रदेशबाट पनि सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन् । कर्णालीमा पनि सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका हुन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका छन् ।
