प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेश प्रदेश, बागमती प्रदेश र एपीएफ क्लव बिजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेशले गण्डकी प्रदेशलाई १ सय ४५ रनले हराएको हो । जितका लागि ३ सय ३६ रनको बिशाल लक्ष्य पछ्याएको गण्डकी ३९ दशमलव ५ ओभर खेल्दै १ सय ९० रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ३५ रन बनाएको थियो ।
मधेशका लागि अनिल शाहले १२४ रनको शतकीय पारि खेले । मधेश ७ खेलमा १० अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ । गण्डकी भने ५ खेलमा ४ अंक सहित आठौ स्थानमा छ । आजै मुलपानी मैदानमा भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हरायो ।
जितका लागि २ सय ४८ रन पछ्याउने क्रममा सुदूरपश्चिम ३१ औं ओभरमा अलआउट हुँदै १ सय ५० रनमा समेटियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन बनाएको थियो । ८ खेलबाट १० अंक जोडेको बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पाँचौ स्थानमा रहेको सुदूरपश्चिमको ६ खेलबाट ८ अंक रहेको छ । उता, भैरहवास्थित सिद्धार्थनगर रंगशालामा भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले हरायो । लुम्बिनी प्रदेशले दिएको १ सय ३४ रनको लक्ष्य एपीएफले २२ दशमलब १ ओभरमा ३ विकेट गुमाउदै पूरा गरेको हो ।
यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभरमा अल आउट हुदै १ सय ३३ रन बनाएको थियो । जितपछि एपीएफको ६ खेलबाट ६ अंक भएको छ छ । ५ खेलमा २ अंक जोडेको लुम्बिनी नवौं स्थानमा रहेको छ ।
