रुपन्देहीका कुखुरापालक किसानलाई तराजुका रिमोटबाट चल्ने डिजिटले प्रयोग गरेर ब्यापारी र सप्लायर्सले ठग्ने गरेको पाइएको छ । एक किसानलाई ब्यापारीले डिजिटल तराजु प्रयोग गरेर ठगेपछि तथ्य बाहिर आएको हो । विक्रीका लागि आफ्नो फार्ममा बोइलर कुखुरा तयार भएपछि रुपन्देहीको ओमसतिया गाउँपालिका–५, पट्खौलीका सुजित चौधरीले बुटवलका व्यापारी र सप्लायर्सलाई बोइलर कुखुरा खरिद गर्न बोलाए ।
तीनवटा बलेरो पिकअप गाडी लिएर बुटवलको मदाने पोल्ट्री सप्लायर्सका दामोदर पौडेल र डिके पोल्ट्री सप्लायर्सका मदन पन्थ चौधरीको सम्राट पोल्ट्री फार्ममा आए । आफ्नै मजदुर ल्याएर आएका ती सप्लायर्सले तीनवटा गाडीमा १२ क्विन्टलका दरले कुखुरा रिमोटबाट चल्ने डिजिटल तराजुमा तौलेर राखे । तर, उनीहरुले लिएको तौल फार्म संचालक चौधरीलाई शंका लाग्यो । उनले पुनः तौल लिनुपर्ने बताए । तर, ब्यापारीले मानेनन् ।
चौधरीले भने, ‘पुनः तौलिँदा साढे तीन क्विन्टल कुखुरा ठगिएको थाहा भयो ।’ चौधरीका अनुसार तीनवटा गाडीमा एक क्विन्टल १५ किलोका दरले ३ क्विन्टल ४५ किलो कुखुरा ठगेको भेटियो । ‘ठगिएको थाहा पाएपछि मैले प्रहरी र अन्य किसान साथीहरुलाई खबर गरेँ’, उनले भने । त्यसपछि कुखुरा गाडीबाट झारेर ब्यापारीले कुखुरा खरिद गर्न ल्याएका तीनवटा बलेरो किसानको सहयोगमा इलाका प्रहरी कार्यालय, धकधईको नियन्त्रणमा राखिएको छ ।यो घटनापछि रुपन्देहीमा कुखुरा खरिदकर्ता व्यापारी र ढुवानी गर्ने सप्लायर्सले रिमोटबाट चल्ने डिजिटल तराजुको प्रयोग गरेर तौल घटाई किसानलाई ठगि गरिरहेको तथ्य बाहिर आएको छ । तीनवटा गाडीमा गरेर करिब ७० हजार रुपैयाँ बराबरको कुखुरा ब्यापारीले किसानबाट ठगी गर्न खोजेको देखिन्छ ।
किसानको उजुरी पछि प्रहरीले तराजुको वास्तविकता बुझ्न नापतौल कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय, रुपन्देही प्रवक्ता (डीएसपी) मनोहरप्रसाद भट्टले बताए । तराजुमा बदमासी गरिएकोे पुष्टि भए कानून अनुसार अघि बढ्ने प्रहरी भनाई छ ।रुपन्देहीमा ४ सय बढी कुखुरापालक किसान छन् । यहाँ उत्पादित कुखुरा बाहिरी जिल्लामा पनि जाने गरेको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले चोरीतस्करीबाट जिउँदो कुखुरा र तयारी बोइलर मासु भित्रिँदा किसान यसै पनि मर्कामा छन् ।
