नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरी डिजेल, मटितेल, पेट्रोल र एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटरमा चार रुपियाँ, डिजेल÷मटितेल प्रतिलिटरमा दुई÷दुई रुपियाँ र ग्यास प्रतिसिलिन्डरमा १५ रुपियाँ मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पोरेसन आइओसीले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य बढाएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार बजारमा पेट्रोल प्रतिलिटर १ सय ७० रुपियाँ, डिजेल÷मटितेल प्रतिलिटर १ सय ५८ र ग्यास प्रतिसिलिन्डर एक हजार ९ सय १० रुपियाँ पुगेको छ । हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले निगमले सोही अनुसार आन्तरिक बजारमा मूल्य बढाएको जनाएको छ । दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा घट्दै आएको पेट्रोलियम पदार्थको मूल्य अहिले आएर बढ्न गएको हो ।
