आज माघ १९ अर्थात प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिनको रुपमा स्मरण गरिदैछ । संसदीय व्यवस्थाबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरंकुश शासन व्यवस्था लादेको भन्दै दलहरुले आजको दिनलाई कालोदिनका रुपमा लिने गरेका छन ।
२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो ।
ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट भएर आन्दोलन गरेपछि मुलुकमा लोकतन्त्र स्थापना भएको थियो । २०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सातदलबीच १२ बुदे समझदारी भएपछि माओवादीसहित ८ राजनैतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए । त्यहि आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो ।
