रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरुलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । रुसी सेनाबाट भागेर नेपाल फर्केका खोटाङका सुमन राईले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरु बाँच्ने अवसर शुन्य बराबर हुने भएको भन्दै नेपाल फर्कने बातावरण बनाउन आग्रह गरे ।
राईले अहिलेसम्म सार्वजनिक नभएको भएपनि ५ सय भन्दा बढी नेपालीहरुले ज्यान गुमाइसकेका दाबी समेत गरे । त्यस्तै रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरुलै छिटो भन्दा छिटो उनीहरुलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे ।
युवाहरु पैसाकै लोभमा गएको भएपनि उनीहरुलाई सरकारले स्वदेश फिर्ता ल्याउने पहल गरिदिनुपर्ने आफन्तको भनाइ छ । उनीहरुले सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न ध्यानाकर्षण समेत गराएका छन ।सरकारले पहल गर्ने हो भने समस्या समाधान हुनसक्ने तर त्यसका लागि चाँडो भन्दा चाँडो पहलकदमी लिन आवश्यक रहेको आफन्तको भनाइ छ ।
