कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वी प्रवेशद्वार काँकरभिट्टाबाट भित्रिने पर्यटकको आवागमनलाई सहज बनाउन प्रदेश सरकारले आवश्यक गृहकार्य सुरु गरेको जानकारी दिएका छन । आज मेचीनगरका विभिन्न स्थानको अवलोकन गर्दै उनले प्रदेश सरकारले विराटनगरको रानी र काँकरभिट्टामा पर्यटक स्वागत कक्षसँगै पर्यटक सूचना केन्द्र निर्माणका लागि बजेट विनियोजन गरेको बताएका हुन । मुख्यमन्त्री कार्कीले अधिकतम बाह्य पर्यटक भित्र्याउने रणनीतिका साथ काँकरभिट्टामा पूर्वाधारहरु निर्माण गरिने जानकारी समेत दिए ।
मुख्यमन्त्री कार्कीले अर्थतन्त्रको प्रमुख स्रोत भन्सार राजस्व वृद्धितर्फ ध्यान केन्द्रीत गर्न मेची भन्सार कार्यालयका कर्मचारीलाई निर्देशन समेत दिए । सो क्रममा भन्सार प्रमुख रामप्रसाद रेग्मीले सीमाका समस्या, नाकाबाट आयात हुने मालवस्तुको कमीलगायतका विषयमा जानकारी गराएका थिए । जनप्रतिनिधि र स्थानीयले विकास निर्माण, भन्सारमा देखिएको समस्याका साथै हात्तीका कारण भोग्नुपरेको पीडा स्मरण गराएका थिए । टोलीले काँकरभिट्टा बस टर्मिनल, काँकरभिट्टास्थित विश्वनाथ मन्दिर परिसरमा निर्माणाधिन भ्यू टावर, पर्यटन कार्यालय, मेची पुल, मेची भन्सारलगायतको अवस्थाबारे जानकारी लिएको थियो ।
