तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा मृतकको संख्या १० पुगेको छ ।उपचारका क्रममा थप दुई जनाको मृत्यु भएसँग मृतकको संख्या १० पुगेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।
दुर्घटनास्थलमा ८ जना र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जीप २० जना सवार भएको अनुमान गरिएको छ । मंगलबार दिउँसो साढे ४ बजेतिर दुर्घटना भएको हो । घटनास्थलमै मृत्यु हुनेमा तिनाउ–६ मस्यामकी ६० वर्षीया यन कुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना, रिव्दीकोट–१ ख्याहाकी ६५ वर्षीया दिल कुमारी सुनार र देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसी रहेका छन् ।यस्तै, लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
