काठमाडौँ । प्रत्येक बर्ष फ्रेबुअरी १४ मा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउने प्रचलन छ । यस दिन माया प्रेममा परेका जोडाजोडीमात्र हैन वैवाहिक जीवन विताएकाहरुले समेत रमणीय स्थान घुम्न जाने प्रचलन छ । भर्खरै प्रेम परेका जोडीहरुले भने गुलाबको फूल दिएर प्रस्ताव राख्ने गर्छन् । यस दिन फूलको समेत कारोबार हुने गर्छ ।
भ्यालेण्टाइन डे अर्थात् प्रणय दिवसको अवसरमा नेपाली बजारमा फूलको व्यापार अत्याधिक हुने गरेको छ । विशेष गरेर गुलावको फूल प्रणय दिवसको अवसरमा जोडीहरुको उत्कृष्ट उपहार हुने गरेको छ । नयाँ जोडी होस् या विवाहित महिला वा पुरुष सबैले पछिल्लो समय प्रणय दिवसको दिन गुलावको फूल मायाको प्रतिकको रुपमा आफ्नो प्यारो मान्छेलाई दिने गरिन्छ । यो दिवस नेपालको मौलिक दिवस नभए पनि नेपालमा समेत अत्याधिक मनाउने प्रचलन बढेर गएको छ ।
उमेरले ७० बर्ष पुग्न आटेका असोक कुमार सुब्बा प्रणय दिवसको दिन प्रत्येक बर्ष आफ्नो अर्धागिनीलाई गुलाबको फूल दिने गर्नुहुन्छ । जुन देश जाहाँबाट शुरु भए पनि यसलाई माया गर्ने दिनको रुपमा उहाँले लिने गरेकोले प्रेयसीलाई गुलाबको फूल दिने गरेको बताउनुहुन्छ ।
कतिपय जेष्ठ नागरिकहरुले भने यो पर्व आफ्नो नभए पनि नक्कल गर्ने बानीका कारण नेपालमा पनि प्रचलित बन्दै गएको बताउने गरेका छन् । पूर्व शिक्षक ७० बर्षीय मेघराज श्रेष्ठले भ्यालेन्टाइन टे नेपालीको मौलिक पर्व नभई देखासिकी पर्वको रुपमा रहेको बताउनुहुन्छ ।
एउटा गुलावको फूल प्रतिगोटा १ सयदेखि ५ सय रुपैयासम्ममा खरिद गर्ने गरेका छन् । व्यापारीहरुले भ्यालेन्टाइन डेलाई नै लक्षित गरेर भारतबाट खरिद गरेर गुलाब फूल ल्याउने गरेका छन् । नयाँ जोडाजोडी, विवाहित पुरुष तथा महिलाहरुले खरिद गरेर लाने गरेको व्यापारीहरु बताउँछन् ।
धरानमा मात्र गुलावको फूलको कारोबार लाखौ हुने गरेको व्यापारीहरु बताउँछन् ।प्रणय दिवस वा प्रेम दिवस १४ फ्रेबुहरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । यसलाई आधार मानेर प्रेममा समर्पित हुने दिनको रुपमा यसलाई प्रेम जोडीले मनाउने प्रचलन छ । यस दिन गुलावको फूल दिएर माया साटासाट गर्ने र रमणीय स्थलमा घुम्न जाने प्रचलन समेत बढ्दै गएको छ ।
