राष्ट्रपति रामचन्द्र पौडेलले देशको अबको कदम अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षाको विकासमा केन्द्रित हुनुपर्ने वताएका छन । पाँचथरको फिदिममा रहेको पाँचथर बहुमुखी क्याम्पसमा बुधबारबाट शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा वहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले ब्यवसायिक, स्वाबलम्बी र आत्मनिर्भर हुने शिक्षाले मात्रै मुलुकको सर्वाङ्गिण विकास सम्भव रहेकाले शिक्षालाई आधुनिक बनाउनु अपरिहार्य रहेको बताएका हुन् । उनले सूचना प्रविधि, विश्वब्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेश अनुसारको शिक्षा नीति र पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड पनि दिए ।
राष्ट्रपति पौडेलले देशमा समृद्धिको आधार कृषि, पर्यटन र उर्जा शक्तिको प्रचुर सम्भावना रहेको बताउँदै त्यसका लागि सुशासन पहिलो आवश्यक रहेको पनि बताए । कार्यक्रममा पाँचथर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमनाथ खतिवडाले घट्दो विद्यार्थी सङ्ख्या र स्रोत साधनको सिमिततालाई ध्यानमा राखेर क्याम्पस सञ्चालनका लागि प्रभावकारी अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको वताए । हालसम्म करीव १५ हजार विद्यार्थीले अध्ययन गरेको क्याम्पसले अक्षयकोषका लागि रु. ५ करोड रकम सङ्कलन गर्ने लक्ष्यका साथ महायज्ञ आयोजना गरेको हो ।
