राष्ट्रपति पौडेल: अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएकाछन् ।

वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याए ।

उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै उनले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

कार्यक्रमको स्वागत मन्तव्य बनेपा नगरका प्रमुख शान्तिीरत्न शाक्यले राखेका थिए । काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ आयोजना गरिएको मूल आयोजक समिति संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जानकारी दिए ।

महोत्सवमा कृषि प्रविधी, रैथाने बाली, खाद्यान, विउ, ताजा तरकारी, भर्मि कम्पोष्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपजहरु, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधि लगायत सामाग्रीका १ सय भन्दा बढी स्टल छन् ।

महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार, कृषकहरुका रैथाने प्रविधिहरुको प्रर्दशन, उन्नत बीउ विजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीहरुको विक्री वितरण, स्थलगत बाली तथा माटो शिविर गर्ने लक्ष्य राखिएको छ । सो कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषकलाई पुरस्कृत समेत गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->