प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । आज प्रतिनिधि सभा बैठकमा दुबै दलले ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । बैठकको एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरे ।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट २ जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनले देखाएको अवस्थामा त्यस्ता मन्त्रीलाई पदमा राखिरहन उपयुक्त नहुने भन्दै एमालेले विरोध गरेको हो । रास्वपाका सभापति रवि लामिछानेले बालकुमारी घटनामा मन्त्री नै दोषी भएको भनेर छानबिन समितिले निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्री र मन्त्रीले नैतिकताको प्रदर्शन नगरेको बताए ।
सभापति लामिछानेले दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनामा दोषी ठहर भएर पनि प्रधानमन्त्री मौन बसेको भन्दै लामिछानेले आफ्ना आएपछि सरकारले फाइल लुकाउने गरेको गुनासो समेत गरे । फाइल किन खोलिँदो रहेछ भन्ने ललितानिवास, सुनकाण्डमा र नक्कली भुटानी शरणार्थी प्रकरणमा देखिसकको उनको भनाइ थियो । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेकपा एमाले र रास्वपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।
