रौतहट रौतहटको ईशनाथ नगरपालिकामा स्थानिय प्रशासनले हिजो देखी लगाएको कर्फयुको दायरा बढाइएको छ ।सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदाय बिच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझ देखी ईशनाथ नगरपालिकाको वडा नं. ६ र ७ मा कर्फयु लगाएको थियो । ति दुई वडा बाहेक अन्य वडाहरुमा पनि साम्प्रदायिक दंगा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले वडा नं. २, ३, ४ र ५ मा पनि आज दिउँसोबाट कर्फयु आदेश जारी गरेको छ ।
“जिल्लाका सुरक्षा अधिकारीहरु घटनास्थलमै हुनुहुन्छ । १५ सय भन्दा बढी सुरक्षाकर्मी सो स्थानमा परिचालन गरिएको छ ।” प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने “अप्रिय घटना तथा जनधनको क्षति हुन नदिन कर्फयुको दायरालाई बढाइएको छ ।” अर्को आदेश नहुन्जेल सम्मका लागी सो क्षेत्रमा कर्फयु जारी रहने उनले बताए । हिजो दुई समुदाय बिच झडप हुदा ६ जना भन्दा बढी स्थानिय घाइते भएका थिए ।
