अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा कामै नगरी भुक्तानी दिएको भन्दै पूर्वसचिव भीम उपाध्यायसहित १७ जनाविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालत काठमाडौंमा आज मुद्दा दर्ता गरेकोमा परामर्श दाता र ठेकेदार कम्पनी पनि छन् । आयोगले तत्कालीन मेलम्ची आयोजना बोर्डका तत्कालनीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव सञ्जय शर्मा, अर्थमन्त्रालयका तत्कालीन सह–सचिव मुकुन्दप्रसाद पौडेलविरूद्ध पनि मुद्दा दर्ता गरेको हो ।
मेलम्ची आयोजनाको निर्माण व्यवसायी सिएमसी दि रभेन्नालाई रनिङ बिलमा काम नै नगरी भुक्तानी गरेको, निर्माण व्यवसायीले छाडेर गएको मेसिन, यन्त्र, उपकरण र अन्य सामग्रीको रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको आरोपमा उनीहरुमाथि मुद्दा दर्ता भएको हो । उनीहरूबाट ६ करोड ९७ लाख ८२ हजार १७८ रूपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यक्षसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो मागदाबी गरिएको छ । मेलम्ची खानेपानी बोर्डका अध्यक्ष गजेन्द्रकुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ बिगो माग दाबी गर्दै उनीविरूद्ध पनि मुद्दा दायर गरिएको छ ।
कार्कीले खानेपानी बोर्डका तत्कालीन सदस्यहरु, निर्माण व्यवसायी र परामर्शदातासहितलाई विपक्षी बनाएर फरक—फरक मागदाबी लिएर आरोप पत्र दर्ता भएको पनि बताए ।
