सोमबार बेलुकादेखि वीरगन्जमा लगाइएको कर्फ्यु आज विहान केही समयका लागि हटाएर पुन कायम गरिएको छ । रौतहटमा भएको झडपको विषयमा हिंसा भड्कन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि भन्दै वीरगन्जका केही भागमा कर्फ्यु लगाएको हो ।
यसैगरि कर्फ्यूको बिचमा वीरगंजको घडिअर्वा चौकमा प्रहरी माथी ढुंगा मुडा गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यससंगै बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएपनि त्यसपछि पुन निरन्तरता दिइएको हो । प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा ’नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यु लाग्ने जनाएको छ । ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा ¥याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ । सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा रौतहटमा भएको विवादलाई लिएर वीरगन्जमा हिजो दिउँसो प्रदर्शन भएको थियो । सो प्रदर्शनमा अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले वीरगन्ज महानगर क्षेत्रमा कर्फ्यु लगाएको हो ।
त्यसैगरि यता रौतहटको ईशनाथ नगरपालिका स्थित चार दिनको रस्साकस्सीपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यु भने यथावत् रहेको छ । ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपराह्न कर्फ्यु अवधिभित्रै पुरानै सहमति अनुसार विसर्जन गरिएको हो ।
सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको प्रशासनले जनाएको छ । साबिक स्थान घिउरा गाउँको उत्तरपट्टि विद्यालय छेउको सार्वजनिक पोखरीमा मूर्ति सेलाइएको हो । तर गत शनिवार स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु भने हालसम्म यथावत् रहेको छ । त्यसैगरी उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न ५ सय नेपाल प्रहरी र २ सय सशस्त्र गरी परिचालन गरिएको छ ।
पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैया देखि जयनगर सम्म चारकिल्ला भित्र जारी भएको कर्फ्यु यथावत राखिएको हो । मू्र्ति विर्सजनापछि अवस्था सामान्य हुँदै गएकाले आज दिउँसो सम्म कर्फ्यु हटाउने तयारी छ ।
