प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक पीडितमैत्री हुुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताएका छन । आजबाट पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाको पटकपटकको प्रस्तावमा सो विधेयक पीडितमैत्री हुुनुपर्ने आफूहरुको अडानका कारण अघि बढ्न नसकेको दाबी समेत गरे । अध्यक्ष ओलीले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको पनि बताए ।
अध्यक्ष ओलीले सो विधेयक दाहाल र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिर समेत गरे । उनले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताए । अध्यक्ष ओलीले कोशी प्रदेशमा राप्रपासँग मिलेर चुनावमा जाँदा आफ्नो पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एक सिट जितेको पनि स्मरण गरे ।
