काठमाडौं । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग निर्माणको क्रममा प्रभाबित स्थानीयले सुरुङमार्ग निर्माण आयोजनाको क्षेत्रीय कार्यालय चन्द्रागिरि–२ मा आज पनि धर्ना दिएका छन् । आयोजनाका कारण खानेपानीको मुहान सुकेको, घरहरु चर्किएको, केही स्थानमा जमीन भासिएकोलगायतका गुनासोको सम्बोधन नभएको भन्दै स्थानीयले हाज्मा एन्द्रोको चन्द्रागिरि –२ स्थित कार्यालय अगाडि धर्नासहित दबाब दिएका हुन् ।
कार्यालय अगाडि स्थानीयले चर्केको भौतिक संरचनाको उचित क्षतिपूर्तिको व्यबस्था गर्नुपर्ने, पर्याप्त खानेपानीको व्यबस्था गर्नु पर्ने, प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, सुरुङ माथीको जमीनको विषयमा उचित सम्बोधन हुनुपर्ने लगायतको प्लेकार्डसहित शान्तिपूर्ण धर्ना दिएका हुन् । सुरुङमार्ग प्रभाबित क्षेत्रका वासिन्दाले पटक पटक माग सम्बोधनका लागि प्रयास गरेको तर आयोजना र राज्यले माग सम्बोधन गर्ने आश्वासन मात्र दिएको सिस्नेखोला–नागढुंगा सुरुङमार्ग प्रभाबित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोपी सुर्खेतीले बताउनु भयो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा सदस्य लब सुवेदीले स्थानीयको माग सम्बोधन कार्यान्वयन पक्षमा आयोजना उदासिन भएकाले दबाब स्वरुप शान्तीपूर्ण धर्ना कार्यक्रम गरिएको बताउनु भयो ।
शान्तिपूर्ण आन्दोलन गर्दा आयोजनाले वेवास्ता गरेमा थप सशक्त आन्दोलन गर्ने स्थानीय बताउँछन् । उनीहरुले राष्ट्रिय गौरबको आयोजना भएकैले आफुहरुले पनि योजना सम्पन्न गर्न सहयोग गरेको तर आयोजनाकै कारण आफुहरुको उठिबास लाग्ने अवस्था आएपछि काम रोक्न आफुहरु बाध्य भएको बताउछन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा रहेको सिस्नेखोला नागढुंगा सुरुङ मार्ग आयोजनाका प्रमुख अच्युत भट्टले स्थानीयको माग जायज भएपनि आफुहरुले त्यसको कुनै सुनुवाई गर्न नसक्ने बताउँछन् । स्थानीयको आन्दोलका कारण सुरुङ मार्गको काम दुई दिन देखि ठप्प भएपछि आयोजनाले तय गरेको समयमा सुरुङ मार्गको ब्रेक थु्र हुन नसक्ने भट्टको भनाइ छ ।
सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेल आगामी २३ फागुन (६ मार्च)मा ‘ब्रेक थ्रु’ गरिने गरी कार्य भइरहेको छ । जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले डिसेम्बर २०७७ पुस देखि सुरुङ खन्न सुरु गरेको थियो । टनेलको ब्यास ९.५ मिटर रहेको छ, जहाँ दुई लेन सडक हुनेछ । यसको उचाई भने ८.३ मिटरको रहेको छ । रेस्क्यु टनेलको ब्यास भने ४.५ मिटर रहेको छ । यो सिंगल लेन सडक हुनेछ । यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड नेपालको लगानी हो । हालसम्म आयोजनाको भौतिक प्रगति ६१.१५ प्रतिशत र वित्तीय प्रगति भने ६३.९६ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । परियोजनाका ११ वटा संरचना पनि तयार भइसकेका छन् । आयोजनामा बन्ने १२ संरचनामध्ये तीन अन्डरपास र चार बक्स कल्भर्ट माथि गाडी गुड्ने तल पानी बग्ने संरचनाको निर्माण सकिएको छ ।
यसैगरी, एक ओभरपास, तीनवटा पुलको निर्माण पनि सम्पन्न भइसकेको छ । फ्लाई ओभर भने निर्माणको चरणमा छ । आयोजनाको यत्ति धेरै कार्य सम्पन्न भैसक्दा पनि सुरुङमार्ग प्रभाबितहरुको माग भने सम्बोधन हुन सकेको छैन ।
