काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचन वैशाख ४ गते हुने तय भएको छ।
सङ्घीय संसद् सचिवालय ले निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको हो।
कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म सभापतिका लागि प्रस्ताव दर्ता हुनेछ। प्रस्तावमा सम्बन्धित समितिका एक जना सदस्य प्रस्तावक र अर्का सदस्य समर्थक हुनुपर्ने प्रावधान रहेको छ।
सोही दिन ४:३० बजेसम्म प्रस्तावहरूको सूची प्रकाशित गरिनेछ भने शुक्रबार अपराह्न १ बजे बस्ने बैठकमा प्रस्ताव प्रस्तुत गरी निर्णय गरिनेछ। यदि मतदान आवश्यक परेमा सम्बन्धित सदस्यहरूले पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको छ।
