रूपन्देही । पछिल्लो समय उद्योगी तथा पर्यटन व्यवसायीले रूपन्देहीमा होटल ब्यवसायको क्षेत्रमा ठुलो लगानी गरेका छन् । भैरहवामा गौतमबुद्व अन्तर्राष्ट्रिय विमान स्थल निर्माण हुनु तथा विश्वको ध्यान केन्द्रित बुद्व जन्मस्थल लुम्बिनी यहि हुनु जस्ता कारणले ब्यवसायिहरूले होटल व्यवसायका क्षेत्रमा ठुलो लगानी गरेका हुन् ।
यसैबीच कोरोना कालमै सिद्वार्थ ग्रुपले रूपन्देहीको भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको छ । रूपन्देहीको भैरहवामा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे लक्जरी होटल संचालनमा ल्याएको हो । सिद्वार्थ ग्रुपले आन्तरिक तथा वाह्य पर्यटक केन्द्रित सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको बताएको छ । २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामीणस्तरको खाजा पसलबाट शुरु भएको सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पांचतारे होटेलसम्म आइपुगेको छ ।

सिद्धार्थको शुरुवाती यात्रा २०५४ सालमा कैलालीबाट शुरु भएको थियो । कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको ग्रुपले भैरहवामा पहिलो पांचतारे होटेल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा निर्माण गरिएको यस्को लगानि करिव साढे २ अर्ब रुपैयाँ रहेको छ ।
होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र डिलक्स गरि ८५ कोठा रहेको ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले जानकारी दिए ।
होटलमा क्यासिनो, ठूला सभा हल, सेमिनार हल, लबी लाउञ्ज,अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट,स्वीमिङ पुल, जिम हल,स्पा,लगायतका संरचना रहेको ग्रुपका सीईओ कृष्ण न्यौपानेले जानकारी दिए ।

केही काम बाँकि रहेकोले यो होटल असोजबाट पुर्णरूपमा संचालनमा आउने सिद्धार्थ भिलासाका जनरल म्यानेजर काशि अधिकारीले जानकारी दिए । बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गर्दै यो होटलको निर्माण गरिएको बताईएको छ ।
धार्मिक एवं पर्यटकिय क्षेत्र पाल्पा, गुल्मी जिल्ला संग कनेक्सन गर्दै पर्यटकको वसाई लम्व्याउने र धार्मिक एव पर्यटन बिकासमा जोडदिने योजना रहेको संचालक योगराज कँडेल वताउछन् । होटेलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसंग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण समेत गरिएको छ।

सिद्धार्थ भिलासामा ३ सय जनासहित ग्रुपले हालसम्म करिव १ हजार ६ सय जनालाई रोजगारी दिएको जनाएको छ ।
कोरोना कालमा ठुलो लगानी गरिएको यो संरचनालाई रूपन्देहीको एउटा गहनाको रूपमा लिईएको छ ।
