काठमाडौं । समयमा नै खरिद प्रक्रिया नहुँदा एन्टी रेबिज भ्याक्सिन (एआरभी) खोपको अभाव भएको छ । स्टक कम भएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई केही समयका लागि आफैंले व्यवस्थापन गर्न पत्राचार गरेको छ ।
कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन लगाइन्छ । चिकित्सकका अनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ ।
तर स्वास्थ्य सेवा विभागले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई खोप उपलब्ध नगराएको महिनौं भइसक्यो । जसका कारण सरकारले निःशुल्क उपलब्ध गराउने अस्पतालदेखि स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टी रेबिज भ्याक्सिन उपलब्ध छैन ।
लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३३ वटा स्वास्थ्य संस्थालाई एन्टी रेबिज भ्याक्सिन वितरण गर्दै आएको थियो । तर एक महिनादेखि खोप उपलब्ध गराउन नसकिएको केन्द्रका प्रमुख रोशन चौधरी बताउँछन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पशु चिकित्सक डा.रोशिका श्रेष्ठका अनुसार देशभर करिब तीन लाख हाराहारीमा कुकुरलगायत जनावरको टोकाइबाट प्रभावित हुने अनुमान गरिन्छ । नेपालमा रेबिजका कारण वार्षिक १०० जनासम्मले ज्यान गुमाउने गरेको सरकारी विवरण छ ।
