मकवानपुर। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शनिवार मकवानपुरको हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
हेटौंडास्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शिविर उद्घाटन गरेकी छन् ।
शिविर उद्घाटन गर्दै मेयर लामाले गरिब तथा विपन्न बिरामीलाई शिविरले निकै फाइदा पुर्याउने विश्वास व्यक्त गरिन् । शनिवार सम्पन्न भएको शिविरमा २ हजार १ सय २० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
टाढा–टाढाबाट पनि बिरामीहरू उपचारका लागि शिविरमा आएका थिए । शिविरमा ५७४ जनाको भिडियो एक्सरे, ५२२ जनाको रक्त परीक्षण, ३५० जनाको इसीजी र २५१ जनाको इको गरिएको छ ।
त्यस्तै, दाँतमा समस्या भएका ५१ जनाको दाँत फुकालिएको छ । शिविरमा उपचार सम्भव नभएका तथा गम्भीर समस्या देखिएका १०५ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले बताए ।
