आज कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने कागतिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौमतले बताए । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खानेकुरा खान दिई खुसी पार्ने गरिएको हो ।
लोकव्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ । कागलाई दहीभात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दहीभात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दहीभात खुवाउने प्रचलन रहिआएको हो । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने शनिवार देखि नै सुरु भएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका– १ कागेश्वरीधाम, पशुपति क्षेत्रस्थित कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रस्थित कागेश्वरी मन्दिर क्षेत्रमा पनि कागेश्वर महादेवको पूजा–आराधना गरी मीठा–मीठा खानेकुरा खुवाउनेको भिड लाग्छ । कागेश्वरीधाममा भने अष्टधातुको कागको मूर्ति बनाइएको छ । दुई सय ५० केजीको यो कागेश्वरी मन्दिर नेपालकै ठूलो हो ।
