लामो समयदेखि जग्गा प्राप्तिमा अल्झिएको एक प्रदेश एक मेडिकल कलेज आवधारणा अनुरूप महोत्तरीको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण अघि बढने भएको छ ।बुधबारको मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज पूर्वाधार निर्माणका लागि प्रस्तावित जग्गामा तोकिएका रुख कटान गर्न दिने निर्णय गरेसँगै जग्गा प्राप्तिको कुरा टुंगिएको बर्दिवास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले बताए । निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढिसकेकाले अब मेडिकल कलेज पूर्वाधार निर्माणको गाँठो फुकेको उनले बताए ।
वन तथा वातावरण मन्त्रालयमा लामोसमयदेखि थन्किएको मेडिकल कलेजको फाइलमा निर्णय गर्दै मन्त्रिपरिषदले सर्तहरू पालना गर्नेगरी बर्दिवास–४ स्थित माइस्थान सामुदायिक वन क्षेत्रको ५४ दशमलव ५८४ हेक्टरमा रहेका १ हजार ९ सय ७६ रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
रुख कटानको स्वीकृतिसँगै मेडिकल कलेजको पूर्वाधार निर्माण अघि बढने भएपछि बर्दिवासवासी खुसी भएका छन । बर्दिवास मेडिकल कलेज प्रस्तावित जग्मामै बन्नुपर्ने भन्दै यस क्षेत्रका सरोकारवालाले लामो समयदेखि संघर्ष गर्दै आएका थिए ।
वनक्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ मा परेको रिट अदालतले गत जेठ २९ गते खारेज गरेको थियो । यता बर्दिवास नगरपालिकाले भने कलेजको पूर्वाधार निर्माण गर्दा काटिन सक्ने रुखका कारण पर्यावरणमा पर्नसक्ने असर रोक्न भन्दै ०७८ सालदेखि नै वृक्षारोपण अभियान संचालन गरिरहेको छ । २०७६ साल वैशाख १८ गते पूर्वाधार निर्माणका लागि बर्दिबासमा बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयले हालसम्ममा मेडिकल कलेजको गुरूयोजना तयार पार्ने लगायतका काममा ८ करोड खर्च भइसकेको छ।
डिपिआर अनुसार ६ सय बेडको अस्पताल निर्माण सम्पन्न गर्न २० अर्ब ४२ करोड १६ लाख ३५ हजार रुपैँया लाग्ने अनुमान छ ।नवीनतम प्रविधिसहित अन्तर्राष्ट्रिय स्तरका एक हजार शय्याको अस्पताल बनाउने भनिएको थियो। यसअनुसार बजेट उपलव्ध नहुने भएपछि अर्थ मन्त्रालयले हाल ६ सय शययाको मात्रै बनाउन निर्देशन दिएकोले त्यसै अनुसार योजना बनेको हो।
