काठमाडौं -काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएको छ । महानगरले पार्किङमा लगाएको रोकका विरुद्ध न्यूरोडका व्यापारीहरु आन्दोलित भएका छन् ।
उनीहरुले मंगलबारबाट सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले मंगलबार देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी ९वरिष्ठ उपरीक्षक० राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।
यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ ।
यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ । अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ ।
यसबाट न्युरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा गरिएको छ ।
तर न्युरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गरेका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रको सडक किनारमा पनि पार्किङ निषेध गरेको थियो । सो क्षेत्रका व्यापारीहरु त्यसको विरोधमा उत्रिए पनि महानगरपालिकाले पार्किङ निषेधको निर्णय फिर्ता लिएको छैन ।
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ ।
यसैगरी नगर प्रहरीहरू खटाएर पार्किङ गर्न आउनेलाई मंगलबारबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराएको छ । वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरु भने नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाएको छ ।
