सरकारले आगामी वर्ष मल अभाव हुन नदिन करिब १५ अर्ब रूपैयाँको रासायनिक मल किन्ने तयारी गरेको छ । त्यसका लागि अर्थमन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ का लागि रासायनिक मल खरिद गर्न करिब १५ अर्ब रूपैयाँ स्रोत सुनिश्चित गरेको छ । आगामी वर्षका लागि आवश्यक मल खरिद गर्न चालु वर्षदेखिनै प्रक्रिया सुरु गनुपर्ने भएकाले दुई लाख ६० हजार मेट्रिक टन रासायनिक मल किन्न प्रक्रिया अघि बढाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
आगामी वर्षको बजेटबाट खर्च गर्ने गरी मल खरिदका लागि बजेट स्रोत सुनिश्चित गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मल खरिद प्रक्रिया सुरु गरिएपछि नेपाल ल्याउन करिब ६ महिना लाग्ने भएकाले चालु आर्थिक वर्षबाट नै प्रक्रिया सुरु गनुपर्ने मन्त्रालयले जनाएको छ । आमामी वर्षको जेठ–असारमै धान रोप्दा रासायनिक मल आवश्यक पर्ने भएकाले सरकारले अहिलेदेखि नै मल खरिद प्रक्रिया अघि बढाउन लागेको कृषि सामग्री कम्पनीले जनााएको छ ।
सरकारले चालु आवका लागि रासायनिक मल खरिद गर्न ३० अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ। विनियोजित बजेटबाट मल खरिदका लागि सबै टेण्डर भइसकेको छ । ३० अर्ब रूपैयाँको मलमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेर बिक्री गर्दै आएका छन । कृषि सामग्री कम्पनीले यो वर्षका लागि एक लाख ८० हजार मेट्रिक टन मल ल्याइसकेको छ भने अन्य मल आउने प्रक्रियामा रहेको छ ।
