तेस्रो मुलुकका पर्यटकलाई भारतले पूर्वी सीमा नाकाबाट नेपाल छिर्न नदिँदा कोशी प्रदेशसहित देशभरका पर्यटन व्यवसायीहरु मारमा परेका छन् । कोरोना कहरका कारण ४ वर्षअघि बन्द भएको आवागमन भारतले पूर्णरुपमा नखुलाउँदा विशेषगरी पूर्वी नेपालको होटल, पर्यटन, यातायात, हवाई सेवा लगायतमा प्रत्यक्ष असर परेको हो ।
कोरोना कहर सकिएर परिस्थिति सहज बन्दै गए पनि भारतले तेस्रो देशका पर्यटकलाई सीमावर्ती नाका पश्चिम बंगालको पानीट्याङ्कीबाट नेपाल प्रवेश गर्न रोक लगाएपछि व्यवसायीहरु मारमा परेका हुन् । उग्रवादी समूह भित्रिन सक्ने भन्दै सम्भावित सुरक्षा चूनौति देखाएर भारतले सीमामा कडाई जारी राखेको हो ।
नेपाली व्यवसायी भने नाकामा ४ वर्षदेखि कायमै रहेको अवरोध अझै नहट्नुलाई ‘भारतको अघोषित नाकाबन्दी’ भएको बताउँछन् ।बंगलादेश लगायत तेस्रो मुलुकबाट पर्यटक आउन छोडेपछि होटल तथा पर्यटन क्षेत्रले आर्थिक रुपमा ठूलो क्षति व्यहोरिरहेको छ । सो विषयमा सरोकारवालाहरुले संघीय सांसद विश्वप्रकाश शर्मा र कोशी प्रदेशका सांसद गोपाल तामाङको ध्यानाकर्षण गराएका थिए । झापा क्षेत्र नं. १ का सांसदद्वयले संसदमा विषयवस्तु उठान गरे पनि अहिलेसम्म ठोस उपलब्धि हासिल हुन नसक्दा सरोकारवाला पक्ष निराश बनेको छ ।
