शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अंकले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको हो । आज एक करोड २१ लाख कित्ता शेयर चार अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३२ करोड ५० लाख ४५ हजार ७२ बराबरका चार लाख ७८ हजार पाँच सय ६० कित्ता शेयर किनबेच भएका छन् ।
सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने र संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था ल्याएपछि त्यसको असर बजारमा देखिएको हो । आज ४० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २ सय ३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
