त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आर्थिक वर्ष २०७९-८० मा ११ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले हालसम्म ६ अर्ब ७६ करोड राजस्व उठेको हो ।
विमानस्थलले यात्रुसेवा शुल्कबापत, कोठा र सटर बाहल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ । विमानस्थलले आर्थिक वर्ष २०७७-७८ मा दुई अर्ब ४६ करोड राजस्व उठाएको थियो । कोरोनाका कारण उक्त वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ । कोरोनापछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैगरी कुल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् ।
सन् २०२२ मा यो संख्या ७९ लाख ५४ हजार चार सय ९५ थियो । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।
