दैलेख । नारायण नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगतरूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम ल्याएको हो ।
नारायण– ११ टाटामाखु स्थित रैनादेवी माध्यमिक विद्यालयबाट सञ्चालन गरिएको सो कार्यक्रमको मुख्य ध्येय बालबालिकाले विद्यालयमा भोग्दै आएका समस्या समाधान गर्ने, उनीहरूमा रहेको अन्तर्निहित क्षमताको पहिचान गरी बालबालिकालाई समग्र क्षेत्रमा सहभागी गराइ सुन्दर भविष्य निर्माणमा योगदान गर्ने रहेको छ ।
सामुदायिक विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रममार्फत बालबालिकाहरूले भोग्दै आएका समस्या, स्थानीय सरकारप्रति बालबालिकाको अपेक्षा, विद्यालयमा देखिएका समस्याको नीतिगत तहबाट समाधान र बालबालिकाको मनोबल बढाउनु कार्यक्रमको उद्देश्य रहेको नगरप्रमुख लोमन शर्माले बताए ।
