सुन्तला भोजपुरका किसानको राम्रो आम्दानीको श्रोत बनेको छ । सुन्तला बिक्रीबाट यहाँका किसानले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । भोजपुरको टेम्केमैयुृङ ३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला विक्रीबाट बार्षिक रु. दश लाख आम्दानी गर्दै आएका छन् । सुन्तला खेती भोजपुरका किसानको राम्रो आम्दानीको श्रोत बनेको छ । यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर लगायतका सहरमा पुग्न थालेपछि किसानलाई सहज भएको हो । ४३ वर्षअघिबाट ३३ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला गरिरहेका भोजपुरको टम्केमैयुङ ३ अन्नपूर्णका किसान बद्री अधिकारीले वार्षिक १० लाखसम्म आम्दानी गर्दै आएका छन् । आफ्नो बगानमा रहेका तीन सय ७५ बोट सुन्तलाले आम्दानी दिँदै आएको उनको भनाइ छ ।
सुन्तला खेतीबाट दुई ओटा छोरालाई इन्जिनियर र एक छोरीलाई बैंकको जागिरे किसान अधिकारीको भनाइ छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाले यहाँका किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।
गाउँपालिकाले माटो सुहाउदो वालीमा जोड दिएको जनाएको छ । लामो समयसम्म आम्दानी लिन सकिने भएकोले किसानलाई बहुवर्षिय बाली खेतीको लागि प्रोत्साहन गर्दै आएको गाउँपालिकाले जनाएको छ । किसानको आवश्यकतालाई ध्यानमा राखेर सुन्तला, किवीलगायत खेतीमा जोड दिइएको गाउँपालिकाको भनाइ छ । सुन्तला खेती विस्तारका लागि वडामा बर्षेनी विरुवा वितरण गर्दै आएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । यहाँका साविक ९, ४, ५, ६ ८ वडाका करिब दुई सय घर परिवार व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको उनको भनाइ छ ।
यहाँका नौ वटै स्थानीय तहमा सुन्तला उत्पादन हुन्छ । विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोखिम, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ ।
