काठमाडौँ । दुध उत्पादक किसानहरुको माग सरकारले सम्बोधन नगरेको भन्दै १५ वटा किसान संगठनहरुले आन्दोलनको घाषणा गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गदै सरकारले पछिल्लो समय दुग्ध उत्पादक किसानहरुको माग सम्बोधनमा गम्भिर नभएको भन्दै किसान संगठनहरुले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन ।
उनीहरुले किसानहरुले दुग्ध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएकाले बाध्य भएर आन्दोलन घोषणा गर्नु परेको बताएका छन् ।
किसानहरुले फागुन १० देखि २१ गतेसम्मका आन्दोलन कार्यक्रम सार्वजनिक गरेका हुन । किसानहरुले फागुन १३ गते दलका नेता र प्रमुख सचेतकहरुलाई मागपत्र बुझाउने, १४ र १५ गते प्रशासन कार्यालय धर्ना दिने, फागुन १७ गते राजमार्गमा चक्काचाम र २१ गते काठमाडौंमा धर्ना तथा बिरोध प्रदर्शन गर्ने भएका छन ।
दुधको वक्यौता भुक्तानी गर्न, भारतवाट आयात रोक्न, बिक्री मूल्य निर्धारण गर्न, पाउडर दूध उत्पादन गरेर मिल्क होलिडे रोक्न किसानको माग छ ।
पछिल्लो एक वर्षमा लम्पी स्किन रोगको कारण पशुपालन किसानहरु ७५ अर्ब भन्दा बढी बराबरको क्षति व्यहोर्न बाध्य भएको अवस्थामा दुग्धको करिव ६ अर्ब बराबरको वक्यौता रकम सरकारले भुक्तानी नदिँदा किसान थप समस्यामा परेका हुन । केही समयदेखि किसानहरुले उत्पादित दुग्धमध्ये ५ देखि ६ लाख लिटर दुग्ध बिक्री वितरण हुन सकेको छैन ।
